भौचर अपलोड गर्नुहोस् लगिन

कृष्ण सेन (इच्छुक) को संक्षीप्त जिवनी

कृष्णसेन इच्छुक (२०१३-२०५९) नेपालका युवा पत्रकार थिए । माओवादी सशस्त्र विद्रोहका बेला नेकपा माओवादीको मुखपत्र जनादेशका कृष्णसेन इच्छुकको जन्म वि.सं. २०१३ साल कार्तिक ३ गतेका दिन भारतको देहरादुनमा भएको थियो । यिनी द्न्द्वकालमा राज्य पक्षबाट मारिएका थिए।

कृष्ण सेनको पुर्ख्यौली घर प्यूठान जिल्लाको साराङकोटमा थियो । उनका परिवार त्यहाँबाट अर्घाखाँचीको जलुके गा.वि.स. ७, सातमारामा बसाई सरेको थियो । उनका बुबा भारतीय सेनामा जागिरे थिए । उनको जन्म भारतमै २०१३ सालमा पिता यामबहादुर सेन र आमा भिमकुमारी सेनको कोखबाट भएको थियो । उनको ६ वर्षसम्मको बाल्यकाल भारतका विभिन्न ठाउँमा बितेको थियो । 

इच्छुकले कक्षा १ देखि ८ सम्म दाङ जिल्लाको देउखुरीमा रहेको श्री आदर्श मा.वि.मा पढे । कक्षा ९ र १० दाङ जिल्लाकै लालमटियास्थित श्री सरस्वती हाइस्कुलमा पढे । उनले २०३२ सालमा दोस्रो श्रेणीमा एस.एल.सी. पास गरे । एस.एल.सी. पास गरेपछि उच्च शिक्षा पढ्ने उनको चाहना हुँदाहुँदै पनि गरिबीले उनी पढाइ छाडी कोइलाबासमा भएको साल्ट ट्रेडिङ्गको कार्यालयमा काम गर्न थाले । काम गर्दागर्दै उनले स्वाध्ययन गरे र भारतबाट प्राइभेट परीक्षा दिएर आई.ए. उत्तीर्ण गरे । त्यसपछि उनले त्रिभुवन विश्वविद्यालयबाट बी.एड परीक्षा उत्तीर्ण गरे । उनी विश्वविद्यालयमा भर्ना भएर एम.ए. अध्ययन गर्न थाले तर जनताको पक्षमा सक्रिय भएर आन्दोलनमा लाग्दा उनले एम.ए.को पढाई पुरा गर्न सकेनन् ।

२०३६ सालको विद्यार्थी आन्दोलनमा कृष्ण सेनलाई निरङ्कुश तानाशाही पञ्चायती व्यवस्थाको प्रशासनले गिरफ्तार गर्योल । जेलको कालकोठरीबाट छुटेपछि उनी दाङको महेन्द्र क्याम्पसमा भर्ना भए । क्याम्पसमा पढ्दा उनी विद्यार्थी आन्दोलनमा सक्रिय भए । उनी २०३९ सालमा पुनः पक्राउ परे । त्यस बेलाको पञ्चायती निरङ्कुश शासकले उनलाई लगातार साढे ५ वर्ष जेलमा थुन्यो । उनी २०४४ सालमा मात्र जेलबाट छुटे ।

स्कूल पढ्दादेखि नै कृष्ण सेनलाई जनताको पक्षमा गरिने राजनीतिक विचारधाराले प्रभावित पारेको थियो । उनले २०३४ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । २०३७ सालदेखि उनले दाङमा सक्रिय रूपमा विद्यार्थी आन्दोलनको नेतृत्व गरेका थिए । २०४५ सालमा उनी अखिल नेपाल राष्ट्रिय स्वत्नत्र विद्यार्थी युनियनको राष्ट्रिय सम्मेलन आयोजक समितिको केन्द्रीय संयोजक बने । २०४६ सालमा उनी क्म्युनिष्ट पार्टीको राप्ती अञ्चल क्षेत्रीय व्युरोको सेक्रेटरी बने । पछि उनी संयुक्त जनमोर्चा नेपालको सम्त केन्द्रीय सदस्य बने । साथै उनी अखिल नेपाल जनसांस्कृतिक सङ्घका अध्यक्ष, प्रगतिशील लेखक सङ्घका केन्द्रीय पार्षद, पत्रकार महासङ्घका पार्षद, दक्षिण एसियाली पत्रकार सङ्घका सदस्य, जनअधिकार सरोकार अभियानका सदस्यसमेत भए ।

कृष्णसेन इच्छुक बहुप्रतिभाशाली व्यक्ति थिए । उनी नेपाली दुःखी गरिब जनताको पक्षमा कलम चलाउने जनकवि, लेखक र युद्धमोर्चाका पत्रकार थिए । साथै, उनी जनयुद्धका योद्धा पनि थिए । उनी शोषित पीडित बहुसङ्ख्यक जनताको मुक्तिका लागि समर्पित भएर लाग्ने, राजनीतिक विचारक तथा सशक्त माधवअधिकारवादी थिए ।

जनताका पक्षमा लाग्ने कृष्ण सेनको लेखक, पत्रकार, मानवअधिकारवादी र मुक्तियोद्धाको भूमिकालाई निरङ्कुश शासनतन्त्रले देख्न सकेन । परिणामस्वरुप पटकपटक गरी दश वर्षसम्म उनलाई जेलमा यातनापूर्वक थुनियो र अन्त्यमा सेनलाई २०५९ साल जेष्ठ ६ गतेका दिन गिरफ्तार पछि महेन्द्र पुलिस क्लबको हिरासतमा अमानवीय ढङ्गले यातना दिएर २०५९ जेष्ठ १३ गते हत्या गरियो । ४६ वर्षको जीवनमा देश र जनताका लागि बिर्सन नसक्ने गरी गुण लगाएर उनी मरे ।

 

प्रतिक्रिया

;